इटहरी : कोशी प्रदेश सरकारले अनुसन्धान, स्थानीय प्रशासन, युवा नीति र कर्मचारी व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ नेतृत्व नियुक्त गर्नुका साथै स्थानीय सरकारी सेवा नियमावली, युवा परिषद् विधेयक र सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय केन्द्रसम्बन्धी निर्णय गरेको हो।
बैठकले झापास्थित कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा इटहरी उपमहानगरपालिका–४ निवासी अनिता गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ। नियुक्तिपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
यससँगै प्रदेश सरकारले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीलाई अन्तिम रूप दिनुअघि प्रदेश लोक सेवा आयोगको परामर्श लिने निर्णय पनि गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपका अनुसार निर्माणाधीन नियमावली आयोगको सुझावपछि अघि बढाइनेछ।
मन्त्रिपरिषद्ले मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय केन्द्र सार्ने निर्णयलाई पनि स्वीकृति दिएको छ।
नगरसभाको सिफारिसअनुसार हाल वडा नम्बर १२ मा रहेको केन्द्रलाई वडा नम्बर ८ (साबिक मृगौलिया–९) मा स्थानान्तरण गर्न प्रदेश सरकारले सहमति दिएको हो।
यस्तै, प्रदेशमा युवामैत्री कानुनी संरचना तयार गर्ने उद्देश्यले प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमाका लागि अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको छ। यसले प्रदेश युवा परिषद्को कानुनी आधार तयार गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।
बैठकले यसअघि कार्यान्वयनमा रहेका वृद्धिमुखी कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ खारेज गर्ने निर्णयसमेत गरेको छ।
नयाँ नीति तथा कार्यक्रमअनुसार यी कार्यविधिको सट्टा परिमार्जित व्यवस्था ल्याइने तयारी गरिएको छ।












Discussion about this post