इटहरी : पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीले सडकको दायाँ–बायाँ कोशी ब्यारेजदेखि मेची पुलसम्म सचेतनामुलक ब्यानर लगाएको छ ।
कोशी ब्यारेजदेखि मेची पुलसम्म झण्डै १ सय ५० किलोमिटर सडकको दायाँ–बायाँ विभिन्न स्थानामा सचेतनामुलक ब्यानर लगाईएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले बताए ।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ४ दर्जन बढी सचेतनामुलक ब्यानर, होर्डिङ बोर्ड लगाईएको उनको भनाई छ ।
‘यात्रुको सुरक्षालाई मध्यनजर गर्दै हामीले सचेतनामुलक होर्डिङ बोर्डहरु सडकको दायाँ, बायाँ राखेका हौँ,’ एसपी शर्माले टाकुरासँग भने, ‘सडकमा कसैको पनि दुर्घटनाका कारण मृत्यु नहोस् भन्ने नै हाम्रो पहिलो उदेश्य हो ।’

उनले दुर्घटनामा कसैको पनि मृत्यु हुन नदिनका लागि पछिल्लो समय ट्राफिक प्रहरीले चेकिङ लगायतका कुरामा सक्रियता बढाएको बताए ।
सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा पनि दुर्घटना बढ्ने भएकाले ट्राफिकले अहिले विभिन्न ठाउँमा छड्के चेकिङलाई समेत तीब्रता दिएको उनको भनाई छ ।

उनले भने, ‘ट्राफिक प्रहरीले चेक गरेर कसैलाई चिट काट्ने वा फाइन लिने भन्दा पनि आफ्नो ज्यानबारे सचेतना गराउने हो,’ उनले भने, ‘चिट काट्नुको ठाउँमा बरु आधा घण्टा कुराएर सम्झाउँदा दुर्घटना कम हुन्छ, त्यसकारणले पनि अहिले हामीले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सचेतनामुलक कामलाई तीब्रता दिएका छौँ ।’

ट्राफिकको राजश्व उठाउने काम नभएको तर्क गर्दै आँफूहरुले विभिन्न ठाउँमा दुर्घटना न्यूनीकरणका काम गर्दै आएको उनको भनाई रहेको छ । ट्राफिक नियमको सम्मान गरेमा दुर्घटना र हैरानीबाट जोगिने बताउँदै एसपी शर्माले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण नर्गन समेत अपिल गरेका छन् ।

सर्वसाधारण मानिसहरुले ट्राफिक प्रहरीले घुस माग्ने, असभ्य भाषा प्रयोग गर्ने जस्ता कुरा निर्मूलीकरण हुने तर्क गरे ।

यो पनि – ‘ट्राफिकसँग भागेर हिड्ने दिनको अन्त्य हुन्छ’ : एसपी शर्मा
















Discussion about this post