नेकपा पार्टी फुटेपछि प्रदेश १ को सरकार अल्पमतमा परेको छ । केन्द्रीय नेतृत्वले छुट्टा–छुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टी फुटेको सन्देश दिएका छन् ।
नेकपा फुटेपछि ओली पक्षका नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश १ सरकार अल्पमतमा परेको छ । दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राईलाई अब बुहमत जुटाउन कठीन छ ।
९३ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा नेकपाको मात्रै ६७ सदस्य छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश १ मा ओली पक्षका २० मात्र सांसद छन् । मुख्यमन्त्री राईलाई विश्वासको मत जुटाउन २१ सदस्य रहेको काङ्ग्रेस र पाँच मत भएका साना दलको समर्थनले मात्र पुग्दैन ।
प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो प्रचण्ड– नेपाल पक्षसँग बहुमत रहेको दाबी गर्छन् ।
प्रदेशमा ८ माघ भित्र संसद् अधिवेशन बोलाउनु पर्ने बाध्यात्मक अवस्था छ । संसद् आह्वान भएसँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास–प्रस्ताव दर्ता हुने स्रोतको दाबी छ ।
नयाँ मुख्यमन्त्रीको रूपमा प्रचण्ड–नेपाल पक्षका भीम आचार्य बलियो दाबेदार हुन् । प्रदेशसभा सदस्यमा नेपाल–प्रचण्ड पक्षको सिनियर नेता भएकाले उनलाई नै अघि सार्ने छ ।
तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधन राईसँग आचार्य मात्र दुई मतले पराजित भएका थिए । प्रदेशमा तत्कालीन एमालेको ५१ मत थियो, जसमा मुख्यमन्त्री राईले २६ मत प्राप्त गर्दा आचार्यले २४ मत पाएका थिए । मतदानमा एक मत बदर भएको थियो ।
आचार्यसँग असन्तुष्टि जनाउँदै राईलाई भोट हालेका नेपाल पक्षका नेताहरू पुरानै गुटमा फर्किएका छन् ।
कोशी अनलाइनको सहयोगमा ।
















Discussion about this post