इटहरी : भोजपुरका कृष्ण कार्कीले तीन दिन अगाडिदेखि इटहरीमा रहेको यातायात व्यवस्था विभागमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आएपनि उनको काम भएको छैन ।
यहाँका कर्मचारीको चरम लापरबाहीका कारण उनीजस्तै दर्जनौँ सर्वसाधारण दैनिक सास्ती खेप्दै आएका छन् ।
‘लाइसेन्सका लागि धाएको तीन भयो, अहिलेसम्म काम भएको छैन,’ आफ्नो समस्या सुनाउँदै कार्कीले भने, ‘सुरक्षा गार्डकै लापरबाहीका कारण पनि हामी पीडित भएका छौँ ।’
उनका अनुसार सुरक्षा गार्डमार्फत् अन्य धेरै सेवाग्राहीले ‘सेटिङ’ मा सेवा लिने गरेको आरोप लगाए । ‘कोही–कोहीले गार्डको हातमा चिट दिन्छन् र भित्र जान्छन्, हामीजस्ता सर्वसाधारणको बेहाल भइरहेको छ ।’ उनले भने । कर्मचारीको व्यवहारले आँफूहरु आजित बन्नुपरेको उनको भनाई थियो ।
उनी एक प्रतिनिधि पात्र मात्र हुन् । यातायात व्यवस्था विभाग इटहरीमा सवारी चालक अनुमति पत्रका लागि आएका दर्जनौँ सर्वसाधारण मानिसहरुको समस्या एउटै हुन्छ ।
सुनसरीको हरिनगराका एक युवकले कर्मचारीहरु ‘सेटिङ’ मा मात्रै काम गर्ने आरोप लगाए ।
‘यहाँका कर्मचारीले सेटिङमा मात्रै काम गर्ने गरेका छन्,’ उनले भने, ‘तपाईँ के का लागि आएको, किन आउने भन्दै हप्काउने शैलीमा प्रश्न सोध्छन् ।’ तीनदेखि आफ्नो काम नभएको र ढड्डामै नाम नरहेकाले त्यतिकै घर फर्काउने गरेको उनले बताए ।
‘हामीलाई यहाँ आउँदा सेवाग्राहीको रुपमा नभई दुव्र्यवहारको रुपमा व्यवहार गरिन्छ,’ आँफू कर्मचारीबाट पीडित बनेको उदृत गर्दै उनले सुनाए, ‘लाइसेन्स नवीकरणका लागि आएको तीन दिन भयो, ढड्डामा नाम भेटिएन भन्दै फर्काएका छन् ।’
अर्का पीडित होमेश्वर ठाकुरले स्थानीय सफिना कम्युनिकेशनले फोटोकपी गरेकै पचास रुपैँया मूल्य लिएको गुनासो गरे ।
उनले भने, ‘अन्य समयमा बिजुली हुँदा पाँच रुपैँया र बिजुली नहुँदा फोटोकपी गरेको दश रुपैँया सम्म तिरेका छौँ, तर यहाँ यातायातका कर्मचारीसँग मिलेर सेटिङमा काम हुन्छ ।’ उनले कर्मचारीले सेवाग्राहीसँग बोल्ने तरिकाको सबक सिक्न आवश्यक रहेको बताए ।
यता, यातायात व्यवस्था विभाग इटहरीका प्रमुख प्रेम सापकोटालाई यस विषयमा बुझ्न फोन सम्पर्क गरिएपनि सम्पर्क हुन सकेन ।













Discussion about this post