इटहरी : बैंकको चर्को ब्याजदरविरूद्ध सुनसरी र मोरङका व्यापारीले आन्दोलन गर्ने घोषणा गरेका छन् ।
ब्याजदरका कारण उद्योग व्यावसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि यहाँका उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिने बताए ।
उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् ।
उद्योगी व्यवसायीहरुका तीन दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।
‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’
बिहीबारदेखि सुरू हुने आन्दोलन देशव्यापी बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।














Discussion about this post