Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विश्वेश्वरप्रसाद कोइरालाको कथा : कर्नेलको घोडा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८१
in कला साहित्य, समाचार
0
विश्वेश्वरप्रसाद कोइरालाको कथा : कर्नेलको घोडा
80
SHARES
Share on FacebookShare on Twitter

कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरूनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेल्नीलाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जैले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई खुसी पार्न केही न केही कुरो कर्नेल किनेर ल्याउँथे-साडी, पाउडर, लाली, चुरा, इयरिङ इत्यादि ।

तर, तिनकी दुलहीको मन कहिले पनि दुलहातिर फर्केन । दुलहाले खुसी पार्न मायाले किनी ल्याएको मालमत्ताले भरिएको कोठामा एक्लै बसी कर्नेल्नी आँसु खसाल्थिन् । कत्रो आशा र उमङ्ग लिएर तिनीले दुलहाको घरमा पहिलो दिन पाइलो हालिथिन् । कत्रो सुख पाइएला भनेर तिनले आशा गरेकी थिइन् । कर्नेल्नी यी सबै पहिलेका कुरा विचार गर्थिन् र बिस्तारबिस्तार रून्थिन्।

बिहा हुनुभन्दा पहिले छिमेकको एउटा युवकले तिनलाई प्रेमको निम्ता दिएको थियो । राम्रो थियो त्यो युवकले हृष्टपुष्ट, त्यसको बाहु बलियो थियो । रहरलाग्दो थियो त्यसको शरीर । यो कुरा सम्झँदा तिनलाई अहिले पनि सिरिङ्ग हुन्छ । तर, त्यसबखतमा आफ्नो भविष्यमा पाउने दुलहाको मीठो कल्पना गरेर त्यो युवकको निम्तालाई तिनले स्वीकार गरिनन्।

अब छिनछिनमा त्यो युवकको सम्झना हुन्छ । त्यसको बलिष्ठ भुजाको ध्यान मनमा आउँछ । त्यसको बाहुको शक्तिको अनुभव गर्न पाउने अब तिनलाई रहर मात्र रह्यो । तिनले आत्तिएर कोठाका चारैतिर हेरिन् । कोठाका मालमत्ताहरु तिनको खिसी गरिरहेजस्ता थिए । आफूलाई खुसी पार्न ल्याएको मालले घेरिएकी तिनी बन्दिनीजस्ती थिइन्।

त्यहीबेलामा किनेका माललाई कुनै काखी च्यापी, कुनै हातैमा झुन्ड्याई कर्नेल कोठाभित्र पसे।

“हेर, मेरो प्राण, के–के किनेर ल्याएको छु !” कर्नेलले मालको थुप्रो तिनको अगाडि राखेर भने।

कर्नेल्नीले उत्साहहीन दृष्टिले एकचोटि कर्नेललाई र एकचोटि मालमत्तालाई हेरिन्।

“मैले कतिचोटि हजुरलाई भनें, मलाई यी सब मालमत्ता चाहिँदैनन् । व्यर्थ हजुर किन पैसा फ्याँक्नुहुन्छ ?” कर्नेल्नीले आँसु पुछ्दै भनिन्।

कर्नेलले मायाले सोधे— “तिमी किन सधैं चिन्तित बस्छ्यौ ? तिम्रो त अहिले लाउने-खाने उमेर छ । तिमीलाई केको तकलिफ छ ? मलाई भन न।”

कर्नेल्नीले उत्तर दिनु व्यर्थ ठानिन् । तिनको कष्ट कर्नेल बुझ्दैनन् । १९ वर्षकी युवतीका मनको भाव ४५ वर्षको दुलहाले बुझ्दैन । कर्नेलले चुप लागेर बसिरहेकी दुलहीलाई मायाले उचाले । तिनले भर्खरै विचार गरेको दुःखद भावनाहरुलाई बिर्सिन् । दुलहाको उमेरलाई बिर्सेर उनले आफ्नो शरीरलाई दुलहामाथि फ्याँकिन् । कर्नेलले तिनको भार थाम्न सकेनन् र तिनी पछारिए।

दुलहीको सारा स्वप्नको तार एक्कासि चुँडियो । दुलहीलाई उठाउने प्रयत्नमा बल पर्दा स्वाँस्वाँ गरिरहेको र पछारिएका दुलहालाई कर्नेल्नीले एकचोटि घृणाका दृष्टिले हेरिन् । त्यसै दिनदेखि कर्नेल्नीका मनमा आफ्ना दुलहाप्रति महान तिरस्कारको भाव उदय भयो।

एकदिन कर्नेल र कर्नेल्नी आफ्नो हाताको निरीक्षण गरिरहेका थिए । कर्नेलले विदेशबाट झिकाई पाँचवटा गाई पालेका थिए । गोठघरमा धेरैबेरसम्म तिनीहरु गाईबस्तुको निरीक्षण गरिरहे । गोठसँगै जोरिएको तबेला थियो । घोडाले हिनहिनाएको स्वर कर्नेल्नीले सुनिन् र सोधिन्— “हजुरले घोडा पनि पालेको छ ? मलाई थाहा थिएन।”

कर्नेलले रहरसँग यो सेतो घोडा किनेको थियो । सधैं आफैं बसी दाना खुवाउँथे, आफैं उभिएर दिनहुँ त्यसलाई मल्न लाउँथे र एकचोटि नित्य बिहान त्यसमा चढी हावा खान निस्कन्थे । तर यता यिनले घोडापट्टि उति ध्यान दिएका थिएनन् । त्यसमा नचढेको पनि निकै भएको थियो।

“हिँड न, जाउँ त्यसलाई हेर्न !” तिनले दुलहीलाई भने।

मालिक आएको देख्ता घोडा अगाडिका दुवै टाप भुइँमा थचारीथचारी झन् हिनहिनाउन थाल्यो । अँध्यारोमा बाँधिएको त्यो घोडाको आँखा टलक्क टल्किरहेको थियो । हिनहिनाउँदा त्यसको नाकका दुवै पोरा फुलेर ठूला हुन्थे । त्यसका नसाहरु त्यसका गोडामा साँप बेरिएझैं लाग्थे । कर्नेल्नीलाई त्यो घोडा एउटा रहरलाग्दो कुरा जस्तो लाग्यो । जब तिनले त्यसलाई छुन खोजिन्, त्यसले तिनलाई छुन दिएन, गर्दन यताउति फ्याँकी टोकुँला जस्तो गर्‍यो । घोडाको त्यस्तो स्वभावदेखि कर्नेल्नी डराइनन्, झन् आकर्षित भइन्।

“यस्तो बलियो घोडा रहेछ । यसको हेरविचार राम्ररी पुग्दैन क्यार ।” तिनले भनिन्।

“पहिले किनेर ल्याएको ताक त म निकै यसको हेरविचार गर्थें, तर यता सइसमाथि यसको जिम्मा छाडिदिएको छु, त्यसैले यसको स्याहार गर्छ । कति सबतिर आँखा पुर्‍याउनु!”

कर्नेल्नीले भनिन्— “म यसको जिम्मा लिन्छु । सइसको के भर ? दाना टाइममा दिन्छ कि दिँदैन । सइसहरु दाना चोरेर बेच्छन् पनि । आफूले पालेको बस्तुको आफैंले स्याहार गर्नुपर्छ।”

कर्नेल मुसुक्क हाँसे, केही उत्तर दिएनन् । भोलिपल्टदेखि कर्नेल्नी आफैं बसी त्यसलाई दाना दिन थालिन् । पहिलेपहिले त घोडा तिनलाई आफूनजिक आउनै दिँदैनथ्यो । तर पछि आफ्नो मायाले तिनले घोडाको स्वभावमाथि विजय पाइन् । दाना खाइरहेको बेलामा कर्नेल्नी घोडाको नजिकै उभिएर त्यसको पिठ्युँमा हात राख्थिन् । घोडाको शरीर तिनका हातको स्पर्श हुनासाथ सिरिङ्ग हुन्थ्यो । घोडा दानामा गाडेको मुखलाई माथि उठाएर एकछिन हिनहिनाउँथ्यो र फेरि मुख गाडी दाना खानमा व्यस्त हुन्थ्यो । एकदुई चोटि त्यो गोडा ठटाउँथ्यो । तल ठोकेको पटाइमा टापको प्रहार पर्दा त्यो अस्तबलको निस्तब्धता भङ्ग हुन्थ्यो । झिँगाहरुले घोडालाई पिरेछन् भन्ने कर्नेल्नीलाई थाहा हुन्थ्यो । घोडाको राम्ररी स्याहार पुर्‍याएको हुँदा तिनलाई सन्तोष थियो।

कर्नेललाई यो कुरा मन पर्दैनथ्यो— दुलहीले यसरी घोडाको स्याहार गरेको । दिनमा एकदुई चोटि हेर्नु एउटा कुरा हो । दिनदिनभरि अस्तबलमै बसिरहनु सरासर मुनासिब होइन । सइस छँदाछँदै आफैं दाना खुवाउन किन जानु, आफैं घोडा मल्न किन थाल्नु।

एकदिन कर्नेलले कर्नेल्नीलाई भने— “कर्नेल्नी, तिमी कति घोडाको फिक्री गछ्र्यौ ? घरमा भान्सा के भो, कसो भो त्यसको तिमीलाई वास्ता छैन, घोडाको चाहिने त्यत्रो सुश्रूषा!”
“म बाहुनी होइन, भान्सामा ढुकिरहने । मलाई जे मन लाग्छ, त्यही गर्छु । घोडाको हेरविचार गर्दा शान्ति पाउँछु । त्यति पनि तिमीलाई असह्य भयो ?” एक्कासि क्रुद्ध भएर कर्नेल्नीले भनिन्।

“तिमीलाई केको दुःख छ र, यो सबै कुरा मलाई सुनाउँछ्यौ ? तिम्रो मनमा केको अशान्ति छ र घोडाको सुश्रूषा गरेर तिमीलाई शान्ति ? तिम्रो मेरा प्रति पनि त कर्तव्य छ नि, घोडालाई गरेको जति पनि कहिले एकछिनका लागि मेरो विचार गर्‍यौ ? साँचो भनूँ, मलाई त घोडादेखि ईर्ष्या छ तिम्रो चालाले कर्नेल्नी !” कर्नेलले रूँलारूँला जस्तो गरेर भने।

कर्नेल्नीले केही उत्तर दिइनन्, घृणाले ओठलाई वक्र पारी दुलहामाथि दृष्टिपात गरिन् । बूढो उमेरमा पनि गहभरि आँसु पारेको देख्ता तिनलाई त्यो दृश्य अत्यन्त नसुहाउँदो र घृणित लाग्यो । तिनलाई कर्नेललाई लत्याएर आफ्नो घृणाको परिचय दिने इच्छा भयो, तर आफूलाई काबुमा राखी तिनी त्यहाँबाट जुरूक्क उठेर हिँडिन्।

एकदिन कर्नेल र कर्नेल्नी दुवै तबेलामा गए । कर्नेलले घोडामा चढ्ने इच्छा जाहेर गरे तर जबजब कर्नेल त्यसको नजिक जान्थे, त्यो टोकुँला जस्तो गर्थ्यो । कर्नेल्नी जाँदा हिनहिनाउन थाल्यो । कर्नेल्नी गएर त्यसलाई सुमसुम्याउन थालिन् । घोडाले हिनहिनाएर गोडा भुइँमा हानेर आफ्नो कृतज्ञताको परिचय दियो।

बडो कठिनाइसँग कर्नेल घोडामा चढ्न सके, तर घोडा तिनको वशमा हुन मानेन । अगाडिका दुवै टाप उठाएर आफू अगाडि नबढ्ने ढिपी गर्न थाल्यो । कर्नेल घोडा चढ्न निपुण थिए, तिनी लोट्न त लोटेनन् तर तिनलाई एक्कासि रिस उठ्यो र हातमा लिएको कोर्राले निर्दयतापूर्वक घोडालाई पिट्न थाले।

घोडाको पिठ्युँमा कोर्राको एक चोट पर्नासाथ कर्नेल्नी ‘निर्दयी’ भनेर कराउन थालिन् । घोडा कोर्राको चोट पाउँदा पनि नचेतेर अगाडि बढेन । कर्नेल सटासट आँखा चिम्लेर त्यसमाथि कोर्रा बर्साइरहेका थिए । घोडाले पछिल्तिरका दुवै गोडा फ्याँक्यो । घोडालाई पिट्नमा व्यस्त हुँदा लगाम तिनको काबुमा थिएन र तिनी उँधो मुन्टो भुइँमा खसे । तबसम्म कर्नेल्नी घोडासम्म पुगिसकेकी थिइन्।

धूलोमा लटपटिएको दुलहापट्टि ध्यान नदिएर तिनी घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको नाकका पोरा क्रोधले फुलेका थिए । तिनबाट पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले विजय पायो, शत्रु पराजित भएर भुइँमा पछारिएको थियो । घोडाको शक्तिका विषयमा कर्नेल्नीलाई केही शंका थिएन । घोडा तिनको लागि एउटा घमण्डको कुरा थियो । मायाले तिनले आफ्नो गाला घोडाको अयालले छोपिएको गर्दनमा राखिन् । तिनलाई पनि घोडा चढ्ने इच्छा भयो र रिकाबमा गोडा राखी सुरूक्क घोडाको पिठ्युँमा पुगिन्।

दुलहा भुइँमा पछारिएकै थिए । आफू घोडामाथि चढी उनी महान सुखको अनुभव गर्न थालिन् । आज तिनले दुलहासित साटो फेर्ने मौका पाइन् । घोडाको प्रति तिनको माया झन् बढ्यो । यसो गर्दन टेढो पारेर उनले धुलो चाटिरहेका दुलहालाई महान घृणाका नजरले हेरेर घोडालाई यसो एडी लाइन् । घोडा फूलको भारी लिएझैं नाच्तै हिँड्यो।

जब तिनी फर्केर आइन्, कर्नेल उभिरहेका थिए । तिनका कोटमा एकदुई ठाउँमा अझ धूलो लागेको थियो । कपाल खजमजिएको थियो । खसेको टोपी धुलैमा थियो । कर्नेलको नजिकै घोडा उभ्याएर कर्नेल्नी बुर्लुक्क ओर्लिन् । तिनले आफ्नो कृतज्ञताको परिचय दिन घोडालाई धाप दिइन् । घोडा बडा तिखो स्वरले हिनहिनायो।

कर्नेल्नीलाई यस्तो महान सुखको कहिले पनि अनुभव भएको थिएन । त्यै बखतमा ढ्वाङ्गढ्वाङ्ग पिस्तोलका दुई शब्द भए । घोडा एकछिन लरबरियो र भुइँमा पछारियो । कर्नेलको हातमा पिस्तोल थियो र त्यसको प्वालबाट अझै धुवाँ आइरहेको थियो । घोडाको पेटबाट रगतको भल बगिरहेको थियो ।

कर्नेल्नीले एकचोटि घोडातिर हेरिन्, फेरि एकचोटि आफ्ना दुलहातिर । हेर्दाहेर्दै तिनको अनुहार चाउरी परेर विकृत भयो, दुवै हातले मुख छोपेर तिनी पनि भुइँमा पछारिइन्।

(‘दोषी चश्मा’ कथासङ्ग्रहबाट साभार।) 

Tags: कथावीपी कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1228 shares
    Share 491 Tweet 307
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    462 shares
    Share 185 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.