इटहरी : दसैँको १२ दिनको अवधिमा कोशी प्रदेशभर २६९ वटा दुर्घटना भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो ।
ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले कोशी प्रदेशभर दसैँको अवधिमा २६९ ठाउँमा भएको सवारी दुर्घटना परी १४ जनाको मृत्यु भएको जानकारी दिए ।
असोज १७ गते घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा सबैभन्दा बढी मृत्यु हुने पुरुष छन् । १३ जना पुरुष र एक जना महिलाको दुर्घटनामा मृत्यु भएको घिमिरेले बताए । दुर्घटनामा परी मृत्यु हुनेको संख्या सबैभन्दा बढी मोरङमा रहेको छ ।
मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यसैगरी १६ जना घाइते भएका छन् । यता, सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
यसैगरी झापामा ७२ वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । यस्तै, धनकुटा र खोटाङमा १–१ जनाको मृत्यु भएको छ ।
१२ दिनमा ७ हजार ५९१ वटा सवारी साधन कारबाहीमा परेका छन् भने ५१ लाख ९५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको एसपी घिमिरेले बताए ।
गत वर्ष कोशी प्रदेशमा दसैंको ६ दिनमा एक सय ३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए । उनकाअनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीमा पाँच सय जना ट्राफिक प्रहरी कार्यालयहरू परिचालन छन् ।
एसपी घिमिरेले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन चुनौतीको रूपमा रहेको बताए ।
उनकाअनुसार इटहरीमा मात्रै सफारी व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, सवारी पार्किङ, ओभर लोड जस्ता समस्याहरू रहेको छ । यद्यपि, ट्राफिक व्यवस्थापनलाई अब्बल बनाउने प्रयत्न जारी रहेको उनको भनाइ छ ।
Discussion about this post