इटहरी : इटहरीमा एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । मंगलबार (आज) साँझ ६ः१० बजेतिर इटहरी ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी हुन् ।
घाँटी रेटिएको अवस्थामा फेला परेपछि स्थानीय निलु रसाइली (रायमाझी)लाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो ।
तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन् । उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ३९ वर्षीया निलुले आफैँले चक्कुले घाँटी रेटेको अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो ।
चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिएपनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ । आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
‘हामीले प्रारम्भिक अनुसन्धान सुरु गरेर शव पोस्टमार्टमका लागि पठाएका छौँ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको वास्तविकता खुल्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले अहिले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ ।’
Discussion about this post