भोजपुर : जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ ।
टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलले भने, “बुबाको पहिचान नखुल्दा दर्नालले नागरिकता नपाएको अवस्थामा आज आमा वसन्ती दमाइँको नामबाट नागरिकता प्रदान गर्याैँ।”
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आदित्यलाई ०९–०१–८२–०३८१० नम्बरको नागरिकता प्रदान गरिएको हो । आवश्यक प्रक्रिया र कागजात पुगेकाले प्रशासनमा आएर आमाको नामबाट नागरिकता लिन सक्ने जनाइएको छ ।
नागरिकता लिनका लागि जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, पतिको पहिचान नभएको भनी आमाले लिखितरूपमा स्वघोषणासमेत गरेको हुनुपर्ने व्यवस्था छ ।















Discussion about this post