इटहरी : आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतरानिवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दाको अनौठो फैसलाको पूर्णपाठ तयार भएको छ ।
न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध राखेकाले बलात्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेका छन् ।
फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले नै सिद्धबाबासँग मोहित भएर आफ्नो शरीर समर्पण गरेको उल्लेख छ । बिहीबार तयार भएको पूर्णपाठमा सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी भन्न नमिल्ने उल्लेख छ ।
फैसलामा भनिएको छ, ‘तसर्थ माथि विवेचना गरिएका आधार एवं कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निज उपर जबर्जस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक र मानसिक रूपमा स्वस्थ भई आँफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा छिन् भन्ने कुरा प्रतिवादीलाई पठाइएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिएअनुसार निज स्वयंले नै आफूले प्रयोग गरेको मोबाइलबाट लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनयअनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणीलाई जबर्जस्ती करणी भन्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोगदाबी स्थापित हुन आएन ।’
सिद्धबाबाले पठाएको म्यासेज पीडितका श्रीमानले देखेपछि उनीहरूबीच विवाद भएको र त्यसपछि मात्र उजुरी परेकाले पनि सम्बन्ध सहमतिमा भएको न्यायाधीश कोइरालाको ठहर छ ।
‘पेस भएको फोन–संवादको अडियोमा भएको आवाज प्रतिवादीकै हो भन्ने देखिएको अवस्थामा जाहेरवालीसँग यौनसम्पर्क नराखेको भए त्यसरी माफी मागी बोल्नुपर्ने कुनै कारण देखिँदैन । यसबाट पेस भएको म्यासेन्जर कुराकानी पनि जाहेरवाली र प्रतिवादीबीच नै भएका रहेछन् भनी सहज ढंगबाट अनुमान गर्न सकिने भई निजहरूबीच वारदात भनिएको राति यौनसम्पर्क भएको तथ्य स्थापित भएको पाइयो,’ फैसलामा भनिएको छ ।
गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको १० दिनमै गत २२ मंसिरमा जिल्ला अदालत, सुनसरीले हतारमा फैसला गरी उनलाई सफाइ दिएको थियो । फैसलामा कानुनी प्रक्रिया समेत मिचेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले असहमति समेत जनाएको थियो ।
यो घटनाको अनुसन्धानमै चलखेल भएको थियो । सुरुमा सुनसरी प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको थिएन । धम्की र प्रलोभन दिँदै उजुरी गर्न दबाब दिएपछि ती महिला पछि काठमाडौंमा आएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा जाहेरी दिएकी थिइन् ।














Discussion about this post