इटहरी : इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार १३ वर्षीय बालक घाइते भएका छन् ।
कात्तिक ४ गते (दसैँको टीकाको दिन) बिहान करिब ९ः५० बजेतिर तरहराबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९९८५ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको २७ प २०३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ निवासी ६२ वर्षीय छत्रबहादुर भण्डारी र मोटरसाइकलको पछाडि सवार उनका १३ वर्षीय नाति प्रिन्स भण्डारी घाइते भएका थिए । प्रिन्स इटहरी–१ निवासी विशाल भण्डारीका छोरा हुन् ।
बस धरान उपमहानगरपालिका–१५ निवासी ५७ वर्षीय मदन पुरीले चलाएका थिए ।
दुवै घाइतेलाई प्रारम्भमा हलगडा सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो । उपचारकै क्रममा मोटरसाइकल चालक छत्रबहादुर भण्डारीको सोही दिन दिउँसो १२ः४० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बालक प्रिन्सको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post