धरान : धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिम दिईएको छ ।
खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान उपमहानगरपालिका र सोही वडाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि तालिम दिईएको हो ।
वडा नं. १८ को वडा कार्यालयमा आयोजित खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिममा ४० जना स्ट्रिड फुड व्यवसायीहरु सहभागि भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
शुक्रबारबाट सुरु भएको अभिवृद्धि तालिम शनिबार समापन हुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख काशिनाथ घिमिरे, तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजन कुमार रिजाल र खाद्य अधिकृत निरज कट्वालले सहजिकरण गरेका छन् ।
तालिममा सहभागी भएका व्यवसायीहरुलाई शनिबार तालिम सम्बन्धि पुस्तक, मास्क, ग्लोब्स र प्रमाण पत्र वितरण गरिने अधिकृत सापकोटाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि यही वडामा भएको बताउँदै विरामी र विरामी कुरुवाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ खाद्यवस्तु विक्री वितरण गर्न आग्रह गरे ।
मेयर राईले सडक छेउछाउमा विक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता गुणस्तर गर्नु नै यो कार्यक्रमको उद्देश्य रहेको बताए । मेयर राईले भने , ‘व्यवसायीहरुलाई मर्यादित, विश्वासिलो बनाउन तालिम आयोजना गरिएको हो ।’
कार्यक्रममा सम्बोधन गर्दै उपमेयर मञ्जु भण्डारीले पनि सडक छेउछाउ खाद्यपदार्थ विक्री वितरण गर्दा गुणस्तरिय खानेकुरा विक्री वितरण गर्नुपर्नेमा जोड दिएकी छिन् ।














Discussion about this post