इटहरी : सुनसरीमा दिनदहाडै गोली पड्काएर लुटपाट भएको छ । सुनसरीको इनरुवा नगरपालिका ९ र हरिनगरा गाउँपालिका ३ को सिमानास्थित नहर नजिकै दिनदहाडै गोली पड्काएर लुटपाट गरिएको हो ।
प्रहरीका अनुसार गोली पड्काएर त्रसित बनाउँदै मोटरसाइकलमा सवार व्यक्तिको साथमा रहेको झन्डै साढे ५ लाख रूपैयाँ नगद बुधबार (आज) दिउँसो २ः१५ बजेतिर लुटिएको हो ।
हरिनगरा गाउँपालिका २ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रुपैयाँ नगद लुटिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट लुटपाट भएको खुलेपनि घटनामा संलग्नको पहिचान भइसकेको छैन । अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कदै थिए ।
गोली पड्किएकोजस्तो आवाज सुनेपछि उनले मोटरसाइकल रोकेका थिए ।अन्सारीले आफ्नो मोटरसाइकल रोक्नासाथ अर्को मोटरसाइकलमा रहेका तीनजना व्यक्तिले लुटपाट गरेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्नको पहिचान हुन नसकिरहेको र प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको उनले बताए ।
लुटपाट गर्नुअघि गोली पड्काएको भनिएपनि अन्सारी सकुशल छन् ।
लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगञ्ज र हरिनगरा, प्रहरी चौकी भुटाहालगायतका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको एसपी पोखरेलले जानकारी दिए ।













Discussion about this post