इटहरी : राष्ट्रिय परीक्षा बोर्डले १९ हजार ६ सय विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाको अंक पुर्नयोग गर्दै छ ।
पुनर्योग (रि टोटलिङ)का निम्ति गएको वर्ष चार हजार ५०० आवेदन परेको परीक्षा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ । आवेदन परेकामध्ये कार्यालयले साउन १ गतेसम्म चार हजार २९७ जनाको नतिजा सार्वजनिक गरेको छ ।
जसमा २८२ विद्यार्थीको नतिजा परिवर्तन भएको छ । नतिजा परिवर्तन भएकामध्ये ५९ जनाले ४ जीपीए ल्याएका छन् । तीमध्ये दुईजना नन ग्रेडेड भएका विद्यार्थीको नतिजा परिवर्तन भएर ४ जीपीए आएको छ ।
यीबाहेक अन्य नन ग्रेडेड भएका विद्यार्थीको नतिजा परिवर्तन हुँदा १.६ देखि ३.६ जीपीएसम्म आएको छ ।
यो वर्ष अनलाइनमार्फत् नै आवेदन दिन मिल्ने व्यवस्था गरिँदा पुनर्योग गर्न धेरै आवेदन परेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
आवेदन दिएका सबै विद्यार्थीको पुनर्योगको नतिजा साउन २३ भन्दा अगाडि निकालिसक्ने शर्माले बताए । एक विषयदेखि सबै विषयमा नन ग्रेडेड भएका विद्यार्थीका निम्ति साउन २३ देखि ३१ गतेसम्म पूरक परीक्षा हुँदैछ ।














Discussion about this post