इटहरी : इटहरीमा चक्कु देखाएर लुटपाट भएको घटनामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ३ तालतलैयास्थित बाटो छेकेर चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीकाअनुसार बाटो छेकेर चक्कु देखाएर दुई लाख लुटपाट गर्नेहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी ४ बस्ने २४ वर्षीय विशाल तामाङ, इटहरी १६ बस्ने १८ वर्षीय रिचन खत्री, रामधुनी ३ का २२ वर्षीय अनिश कोइराला, सोही स्थानका १९ वर्षीय सुशन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत र रामधुनी ७ बस्ने १८ वर्षीय साकार भण्डारी रहेका छन् ।
स्थानीय अमन भगतलगायतका मानिसलाई चक्कु देखाएर उनीहरूले नगद दुई लाख रुपैयाँ लुटपाट गरेको डीएसपी कार्कीले जानकारी दिए ।
‘प्रहरीमा निवेदन आएपछि हामीले इटहरी ४ स्थित टेङ्ग्रा खोलाबाट पक्राउ गरेका हौँ,’ कार्कीले भने, ‘चोरी तथा डाका गरेको नगद तथा चक्कुसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेकाहरूको साथबाट विभिन्न दरका नेपाली नगद ३० हजार दुई सय ५५ रुपैयाँ, चक्कु एक थान, मोटरवाला ओकेटोके हेण्ड सेट दुई थान, ६ थान मोबाइल बरामद गरिएको छ ।
उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post