झापा : झापाको बुद्धशान्ति गाउँपालिका–७ मा करिब १५ फिट लामो राजगोमन फेला परेको छ ।
बुधबार स्थानीयले राजगोमन फेला पारेर उद्धारकर्तालाई बोलाएका थिए । विश्वकै लामो र अत्यन्त विषालु सर्पमध्ये पर्ने यो राजगोमन देखेपछि गाउँमा केही समय त्रास फैलिएको थियो।
सर्प देखिएको जानकारी पाउनासाथ सर्प उद्धारकर्ता श्याम प्रधान, वीरेन्द्र तिवारी र कृपेश कार्कीको टोली घटनास्थल पुगेको थियो। टोलीले करिब एक घण्टा प्रयास गरेर उक्त सर्पलाई सकुशल नियन्त्रणमा लिई उद्धार गर्न सफल भएको हो।
उद्धारकर्ता प्रधानका अनुसार राजगोमन साधारण सर्पभन्दा निकै आक्रामक र विषालु हुने भएकाले यसलाई उद्धार गर्न विशेष सावधानी अपनाइन्छ।
उनले भने, “यो सर्पले अन्य सर्पलाई आहार बनाउँछ। मानिसलाई टोक्ने घटना दुर्लभ भए पनि यसले टोकेमा उपचार नै नहुन सक्छ, त्यसैले विशेष सावधानी अपनाउनुपर्छ ।”
उद्धारपछि सर्पलाई सुरक्षित रूपमा स्थानीय वन क्षेत्रमै छाडिने बताइएको छ ।
राजगोमन सामान्यतयाः दक्षिण तथा पूर्वी एसियाका घना वन र जङ्गल क्षेत्रमा पाइन्छ। यसको लम्बाइ १८ फिटसम्म हुन्छ भने यसलाई विश्वकै सबैभन्दा लामो विषालु सर्प मानिन्छ।
नेपालमा भने तराई र चुरे क्षेत्रमा, विशेषगरी झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा फेला पर्ने गरेको छ।
वन्यजन्तु विज्ञका अनुसार राजगोमन जङ्गली वातावरणमा जैविक सन्तुलन कायम गर्न उपयोगी प्रजाति हो।
भिडिओ














Discussion about this post