झापा : झापाको शिवसताक्षी नगरपालिका–११ बच्चाबगरमा बिहीबार राति तीन जनाको समूहले धारिलो हतियार देखाएर लुटपाट गरेका छन्।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार राति करिब ८ः४० बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले स्थानीय ५३ वर्षीया कृष्णकुमारी राईको घरमा प्रवेश गरी जबरजस्ती गहना र नगद लुटेका हुन्।
लुटपाटमा राईले लगाइरहेको करिब २ तोला ५ आना सुनको सिक्री, सुनको औँठी र घरभित्र राखिएको करिब १ लाख रुपैयाँ नगदसहित जम्मा ३ तोला सुन लुटिएको प्रहरीले जनाएको छ। घटनाबाट करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लुटपाटमा संलग्नमध्ये एक जनाले टाउकोमा टोपी र कालो ज्याकेट लगाएका थिए भने बाँकी दुई जनाले हल्का पहेँलो ज्याकेट लगाएका थिए।
ती व्यक्तिहरूले खुकुरी र चक्कु देखाएर धम्क्याउँदै राईको शरीरमा लगाएको गहना खोसेर फरार भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो। प्रहरीले लुटपाटमा संलग्न समूहको पहिचान र खोजी कार्य तीव्र बनाएको छ।













Discussion about this post