इटहरी : कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रदेशसभाको चालु सातौं तथा बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। निर्णयअनुसार अधिवेशन २०८२ असोज १० गते राति १२ बजेदेखि अन्त्य हुनेछ।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रदेश सरकारको नियमित कार्यसूची सम्पन्न भइसकेकाले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरिएको हो।
प्रदेश प्रमुखको निर्णयपछि अधिवेशन औपचारिक रूपमा अन्त्य हुनेछ।
यसअघि गत भदौ १५ गते बसेको प्रदेशसभाको ४०औँ बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको थियो।
तर भदौ २४ मा जेनजी आन्दोलनका क्रममा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि बैठक सञ्चालनमा अन्योल थपिएको थियो। आगलागीबाट भवनहरू ध्वस्त भएपछि अहिले वैकल्पिक स्थान खोजी भइरहेको छ।
विराटनगरको वीरेन्द्रसभा गृह र कटहरी गाउँपालिकामा रहेको कृषि बजारको भवन प्रदेशसभा र सचिवालय सञ्चालनका लागि संभावित विकल्पका रूपमा प्रस्तुत भए पनि अन्तिम निर्णय भइसकेको छैन।














Discussion about this post