इटहरी : इटहरी निवासी पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विमोचन गरिएको छ ।
नेपाली लेखक संघ, कोशी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा लेखक अधिकारीको अमेरिका भ्रमणका विभिन्न पाटाहरू समेटिएको पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारीले कृतिको विमोचन गर्दै अधिकारीको पुस्तकले अमेरिकालाई नेपाली आँखाबाट वस्तुगत रूपमा नियालेको बताए ।
पुस्तकको समीक्षा गर्दै कवि मनु मञ्जिलले अधिकारीको लेखनमा तथ्य र अनुभूतिको सुन्दर सन्तुलन रहेको उल्लेख गरे ।
यस्तै, समालोचक भूषण दाहालले पुस्तकको भाषा–शैली सरल र सूत्रात्मक रहेको भन्दै प्रशंसा गरे ।
अर्का वक्ता कविराज न्यौपानेले भोजपुरको डिङ्ग्लाबाट अमेरिका पुगेका लेखकले दुई भिन्न भूगोल र संस्कृतिको तुलनात्मक चित्रण रोचक ढंगले गरेको टिप्पणी गरे ।
कार्यक्रममा अन्य वक्ताहरूले अधिकारीको पत्रकारिताको अनुभवले नियात्रालाई थप विश्वसनीय बनाएको धारणा राखेका थिए ।
लेखक अधिकारीले आधुनिक पाठकको समय अभावलाई ध्यानमा राख्दै लामा व्याख्याभन्दा छोटो र सूत्रात्मक शैलीमा ४१ वटा यात्रा संस्मरणहरू समेटेको बताए ।
उनले आफ्नो भ्रमणका क्रममा देखिएका साना तर अर्थपूर्ण घटनाहरूलाई पुस्तकमा स्थान दिएको बताए ।
नेपाली लेखक संघ, कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।















Discussion about this post