इटहरी : अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरिएको छ। पक्राउ पर्नेहरूमा चोरी, अभद्र व्यवहार, बिगो, चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी रहेका छन्।
पक्राउ पर्नेहरूमा धरान–१५ का तेजबहादुर श्रेष्ठ रहेका छन्। उनी चोरी मुद्दामा दोषी ठहर भई १८० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बाँकी रहेका व्यक्ति हुन्। यस्तै, धरान–१५ का मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा ४ हजार रुपैयाँ जरिवाना बाँकी रहेको अवस्थामा पक्राउ परेका हुन्।
बराहक्षेत्र–६ का ज्ञानेन्द्र विष्ट चोरी मुद्दामा ६ सय रुपैयाँ जरिवाना बाँकी रहेका प्रतिवादी हुन् भने देवानगञ्ज–७ का सतिसचन्द्र यादव बिगो मुद्दामा ७३० दिन कैद सजाय बाँकी रहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ।
त्यसैगरी, इटहरी–१८ का सविनकुमार खतिवडा चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना, धरान–१ का दिपका ऋषिदेव चोरी मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तथा बराहक्षेत्र–१० का भरत पौडेल केही सार्वजनिक अपराध (के.सा.अ) मुद्दामा ५ हजार रुपैयाँ जरिवाना रहेका फरार प्रतिवादीका रूपमा पक्राउ परेका हुन्।
प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।















Discussion about this post