इटहरी : कोशी प्रदेश खेलकुद विकास बोर्डले सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इटहरी निवासी केशव कार्कीलाई नियुक्त गरेको छ।
बोर्डले बिहीबार कार्कीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका कार्की फुटबल प्रशासन र क्लब व्यवस्थापनमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्।
कार्की हाल अखिल नेपाल फुटबल संघ (एन्फा) कोशी प्रदेशका सह–महासचिव छन्। उनी राष्ट्रिय जागृति क्लब इटहरीका अध्यक्षसमेत हुन् भने सुनसरी जिल्ला फुटबल संघका निवर्तमान अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्।
फुटबलसहित जिल्लाको समग्र खेलकुद विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्कीले विभिन्न प्रतियोगिता सञ्चालन, खेलाडी उत्पादन तथा खेल संरचना विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्।
उनको नियुक्तिसँगै सुनसरीमा केही समययता सुस्त देखिएका खेलकुद गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ। खेलकुदकर्मीहरूले कार्कीको अनुभव, संगठन क्षमता र नेतृत्वले जिल्लाको खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
नियुक्तिपछि कार्कीले जिल्लाका सबै खेल संघसंस्था, खेलाडी, प्रशिक्षक र सरोकारवालासँग सहकार्य गर्दै खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले खेल पूर्वाधार विकास, प्रतिभावान खेलाडीको पहिचान र प्रतियोगितामुखी गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।














Discussion about this post