देखिन्नन् आज केही श्रमिक मनुजका चित्तमा दीप्त भाव
के मानौँ लाज मान्दै श्रम दिवस यहाँ छैन लौ कामकाज
पैलाका नष्ट पार्यौँ झलमल भवमा झल्कने स्रोत हाम्रा
सारा उद्योग ढाल्यौँ गफ बहुत गरी राज्य भो सर्वहारा ।
हेर्दा हेर्दै सबै यी मजदुर जनका दैनिकी गुम्न थाले
साथै हिँड्ने सबै ती सुजन जति थिए स्वर्गको स्थान पाए ?
मानिन्थे रत्न हाम्रा श्रमिक जन यहाँ राज्यका कर्णधार
सत्तामा उक्लने ती सकल समुहका साधना देख्छु आज ।
खेती बारी सबैमा कृषक श्रमिकले अन्न बाली फलाए
अग्ला चट्टान फोरी अविरल भवमा मार्ग त्यस्तै बनाए
पल्टेको थ्यो पुरानो असल धरहरा हात हातै उठाए
सत्ताका अग्रगामी जन र समुहले सान आफ्नो बडाए ।
कोरोनाको बढेको कहर छ भवमा छैन केही सहारा
आशा थे भव्य धेरै श्रमिक सकलका देश भो सर्वहारा
गल्लीमा बास बस्दै दिनपल श्रमको आस गर्दैछ भाइ
सारा डस्दै छ ऐले कहर अधमले छैन केही कमाई ।
भोकै छन् बालबच्चा मजदुर जनका हातमा छैन दाम
हेल्दै छन् आज सारा गुट उपगुटका स्वार्थमा यो तमाम ?
जागौँ जागौँ सबै लौ श्रमिक जनउठौँ एक ढिक्का बनेर
छाना खाना र नाना मजदुर सँगमा चाहियो लौ भनेर ।















Discussion about this post