इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सुन्दरहरैँचाले घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार विराटचोकमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो ।
सुन्दरहरैँचालाई सुकुम्बासी बिहीन नगर घोषणालाई मुख्य प्राथमिकता राखिएको छ ।
यसअघिका मेयर शिवप्रसाद ढकाललाई कांग्रेसले पुनः उम्मेदवार बनाएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज चापागाई उपमेयरका उमेद्धवार छन् ।
गठबन्धनको नेतृत्व गरिरहेको दलको हिसाबमा कांग्रेसले एकल रुपमै घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा नेपालकै सबैभन्दा ठूलो बहुउद्येश्यीय अन्तराष्ट्रिय स्टेडियम निर्माण गर्नेदेखि खुल्ला व्यायामशाला स्थापना गर्ने उल्लेख छ ।
हरेक विद्यालयलाई डिजिटल विद्यालयको रुपमा रुपान्तरण गर्ने र सुकुना बहुमुखी क्याम्पस एल. एल. बी र इन्जीनियरीङ शिक्षा सञ्चालन गर्ने कांग्रेसले प्रतिवद्धता जनाएको छ ।
नगर अस्पताललाई ५० बेडमा स्तरोन्नती गरी सबै रोगको विशेषज्ञ अस्पतालको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
भिडियो कलमार्फत २४ सैं घण्टा डाक्टरको सेवा उपलब्ध गराउन मेरो डाक्टर सेवा सञ्चालन गरिने र ‘एक वडा एक डाक्टर एक टोल एक नर्स’ को व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ ।
यस्तै, ७० बर्ष पूरा भएका नागरिकका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने, दुलारी अस्पताललाई अपाङ्गता विशेष अस्पतालको रूपमा रुपान्तरण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । पहिलो कार्यकालमा ३ हजार नागरिकको स्वास्थ्य बीमा गरिएको र अब १० हजार नगरबासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिने जनाइयो ।














Discussion about this post