इटहरी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकेन्द्रीत अहिले दलहरू घरदैलो अभियानमा छन् ।
कतिपय दलहरू बाजागाजासहित पनि घरदैलोमा पुगेर जनतालाई भेट्दै मत मागिरहेका छन् । यसैबीच इटहरी उपमहानगरपालिका वडा नं. २० मा नेपाली कांग्रेसको घरदैलो अभियानमा रोचक दृश्य देखियो ।
यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार समेत रहेका रुद्र बस्नेत र नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिराम श्रेष्ठ प्रतिष्पर्धामा थिए । अहिले उनीहरू एकै भएर गठबन्धनलाई मत मागिरहेका छन् ।
नेकपा एमालेबाट फुटेर हाल नेकपा एकीकृत समाजवादीमा आवद्व भएका बस्नेतले अहिले गठबन्धनलाई मत मागिरहँदा जनताहरू आश्चर्यमा परे । उनले मेयरमा रुख, उपमेयरमा कलम र इटहरी २० मा अरु उम्मेदवारलाई रुखमै मत मागिरहेका छन् ।
०७४ को निर्वाचनमा इटहरी २० मा नेपाली कांग्रेसका मणिराम श्रेष्ठसहित प्यानल विजयी भएको थियो । अहिले पनि श्रेष्ठलाई नै कांग्रेससहित गठबन्धनले अगाडि सारेको छ । उनको प्यानलमा सबै नेपाली कांग्रेसकै उम्मेदवार छन् ।
जसअन्र्तगत खुल्ला महिला सदस्यमा धर्मा गिरी, दलित महिला सदस्यमा कुमारी बिक, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) र खुल्ला सदस्यमा बहादुर तामाङ चुनावी मैदानमा छन् ।
अहिले उनीहरू घरदैलो अभियानमा होमिएका छन् ।
कांग्रेसका वडा सभापति अर्जुन बस्नेतले आफूहरूले चुनाव जित्ने दाबी गरे । ‘अहिले हामी घरदैलोमा छौँ, चुनाव जित्ने निश्चित छ,’ उनले भने, ‘यसअघि निर्वाचनमा उठेका माओबादी केन्द्र, नेकपा एमालेबाट फुटेका नेताहरू पनि एकै भएका कारण सहजै चुनाव जितिन्छ भन्ने विश्वास छ ।’
उनले आफूहरूले अहिले नेकपा एकीकृत समाजवादी, माओबादी केन्द्रसहितका नेताहरूलाई सँगै घरदैलोमा पुगेर मत मागिरहेको बताए ।
यता, वडाध्यक्षका उम्मेदवार श्रेष्ठले आफूले पाँच वर्षको अवधिमा थुप्रै ठाउँमा सकारात्मक काम गरेका कारण चुनाव जित्ने बताए । आफूले पाँच वर्षभित्र पूरा गर्न नसकेका काम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए ।
उनले भने, ‘मैले पाँच वर्षको समयमा गर्न नसकेका कामहरू गर्नका लागि मेरो उम्मेदवारी हो, यसपटक जनता निरुत्साहित हुनुपर्ने छैन ।’














Discussion about this post