विराटनगरको नोबेल शिक्षण अस्पतालले उपचारका क्रममा मृत्यु भएका एक पुरुषको शव आफन्तलाई दिन अस्वीकार गरेको छ ।
उपचारवापत लागेको पूरै खर्च नतिरेको भन्दै अस्पतालले झापाको दमक नगरपालिका–८ का ४८ वर्षीय सुरज बुढाथोकीको शव दुई दिनदेखि नदिएको हो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको छ ।
आफूले चलाउने गरेको सफारी बिग्रिएपछि बनाउन ग्यारेजमा लैजाने क्रममा गत माघ २ गते उनी अचानक बेहोस भएर ढले । आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि बुढाथोकीलाई दमकस्थित लाइफलाइन अस्पताल लगे । उपचार सम्भव नहुने अस्पतालले बताएपछि उनलाई सोही दिन नोबेल अस्पताल ल्याइएको हो ।
अस्पतालले उच्च रक्तचापको समस्याले बेहोस् भएको बताउँदै बिरामीलाई तत्काल आइसियूमा राख्यो । त्यसपछि स्वास्थ्य अवस्था थप जटिल बनेको भनेर भेन्टिलेटरमा पुर्याइयो । टाउकोमा रगत जमेर नसामा समस्या भएको हुनसक्ने बताउँदै चिकित्सकले भेन्टिलेटरमा राखेको पाँच दिनपछि शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको जेठी छोरी सुजना बुढाथोकीले बताइन् ।
भेन्टिलेटरमा राख्दै थप उपचार गराइरहेका बुढाथोकीको शल्यक्रिया गरेको १२ दिनपछि मृत्यु भएको हो ।
‘नसा खुम्चिएका कारण ब्रेनको हड्डी नै निकाल्नु पर्यो भनेर चिकित्सकले हामीलाई जानकारी दिएका थिए,’ उनले भनिन्, ‘तर शल्यक्रिया सफल भएको भनिए पनि अहिले उपचारकै क्रममा बुबाको निधन भयो ।’
अस्पतालले परिवारका सदस्यलाई उपचारवापतको एक लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिएको उनले बताइन् । त्यही पैसा तिर्न नसक्दा अस्पतालले शव नदिएको उनको गुनासो छ ।
उपचारवापत धेरै पैसा तिरिसकेको र बिरामीको पनि मृत्यु भइसकेको अवस्थामा बाँकी रहेको थोरै रकम छुट गरेर शव आफूहरूलाई दिनुपर्ने माग परिवारका सदस्य तथा आफन्तको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालले परिवारकै सहमतिमा उपचार थालिएका कारण बिरामीको मृत्यु भए पनि उपचारवापत लागेको रकम भने अस्पताललाई तिर्नुपर्ने बताए । ‘उपचारको पैसा तिर्न बाँकी रहे पनि मृतकका कोही आफन्त अस्पताल प्रशासनको सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘हुन त सम्पर्कमा आए पनि डा. शर्माबाहेक अरुले छुट दिनसक्ने अवस्था छैन ।’
कोसी अनलाइनबाट














Discussion about this post