सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार रुपैँया ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको घटना बाहिरिएको हो ।
शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ ।
“ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, पीडित महिलाले आफ्नो बेदना सम्झदैँ भनिन्, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ ।”
घरायसी कामसँगै तीन–चार दिनको अन्तरमा जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ । “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भनिन्, “दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो ।”
आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको पीडित महिलाले बताइन् ।
महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता
सामान्य विवाद हुँदा समेत छिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुरदेखि गाउँले सबै डराउने गरेको स्थानीयको भनाइ छ । आफूहरु पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन् ।
जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ ।
प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।














Discussion about this post