इटहरी : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा राष्ट्रपति विद्यादेवि भण्डारीले चालेको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएको छ ।
नेविसंघका सभापति राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको इशारामा राष्ट्रपतिले चालेको कदम अलोकतान्त्रिक रहेको बताएका हुन् ।
‘कोरोना महामारीका कारण देश आज भयावह स्थितिमा गुज्रिरहेको छ । नेपाली जनताको जीवन रक्षाका निम्ति केन्द्रित भएर लाग्नुपर्नेमा वर्तमान ओली सरकार कसरी सत्तामा टिकि रहने र सत्ताको आयू लम्व्याई रहने भन्ने एक सुत्रीय अभियानमा लागि रहनु सबै नेपालीका निम्ति दुर्भाग्यपूर्ण र विडम्वनापूर्ण छ,’ सभापति ढुंगानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अझ संविधानको संरक्षक तथा राष्ट्रकै अभिभावक राष्ट्रपति समेत जनता बचाउने महान कार्यमा लाग्नुको सट्टा कुर्सी बचाउने तुच्छ कार्यमा ओलीको कारिन्दाको रुपमा लाग्नु नेपाली जनताको निम्ति लज्जा र आक्रोशको विषय हो ।’
संविधानको धारा ७६(३) अनुसार नियूक्त प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत लिन असफल भएमा वा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा मात्र संविधानको धारा ६७ को उपधारा ५ बमोजीम नयाँ सरकार गठनका निम्ति राष्ट्रपतिले आह्वान गर्नु पर्नेमा सो नगरी प्रधानमन्त्रीको इशारामा उपधारा ५ बमोजीमको सरकार गठनको आह्वान गर्नु असंवैधानिक रहेको ढुंगानाले बताए ।
यस समयमा सरकार कोरोना महामारी नियन्त्रण र जनताप्रति उत्तरदायि बन्नुपर्ने भएपनि जनताको हितका निम्ति सरकारले कुनै कदम नचालेको उनको तर्क छ ।
यस समयमा देशमा जुनसुकै संकट आइपर्ने भएकाले जस्तोसुकै संघर्षको लागि पनि तयार अवस्थामा रहन देशभरीका युवा विद्यार्थीलाई आह्वान गरिएको सभापति ढुंगानाले जानकारी दिए ।














Discussion about this post