चीनले नेपाललाई थप १० लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो । बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो । कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन् ।
जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए । दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए ।














Discussion about this post