सुनसरी : सुनसरीको कोसी गाउँपालिकामा एकआपसमा झगडा गरिरहेका दाजुभाइलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
शनिबार सशस्त्र प्रहरी बल इनरुवाको टोलीले शनिबार कोसी गाउँपालिका ५ स्थित कुम्याहीबाट ४८ वर्षीय विद्यानन्द यादव र ४६ वर्षीय चन्द्रदेव यादवलाई पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरु दाजुभाइ हुन् ।
जग्गाको सीमा विवादमा पेस्तोल देखाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जग्गाको सीमा विवादमा भाइले दाजुलाई पेस्तोल देखाएको प्रहरीले जनाएको छ । आफूलाई पेस्तोल देखाएको भन्दै दाजुले उजुरी गरेपछि पुगेको प्रहरीले लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली पनि बरामद गरेको छ ।
पेस्तोल फेला परेपछि दाजुभाइलाई नै नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उनीहरू बिहानै आपसमा झगडा गरेका थिए । गोली हानेर उडाइदिने धम्कीसहित झगडा गरेको पाइएपछि स्थानीयले सशस्त्र प्रहरीलाई सूचना दिएका थिए ।
स्थानीयको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले शनिबार नै नेपाल प्रहरीलाई कारबाहीका लागि बुझाएको छ ।













Discussion about this post