धरान : ३९ औं वीपी स्मृति दिवस धरानमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।
बुधबार बिहान धरान १३ स्थित वीपी पार्कमा वीपीको पूर्णकदको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ प्रदेशसभाका सांसद चन्द्रप्रसाद श्रेष्ठ, कांग्रेस सुनसरी श्रेत्र नं. १ सभापति सुरेशमान श्रेष्ठ, धरानका मेयर समेत रहेका कांग्रेस नगर सभापति तिलक राईसहितको नेताहरुले वीपीको पूर्णकदको शालिकमा माल्यार्पण गरेका थिए ।
यस्तै, दिउँसो धरान २ स्थित नवनिर्मित पार्टीको भवनमा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाको प्रमुख आतिथ्यतामा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख अतिथि नेता कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै जननायक वीपी कोइरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको स्मरण गरे । धरानमा कांग्रेस आफ्नै खुट्टामा उभिन सफल भएको उनको भनाइ थियो ।
पार्टीको वडादेखि केन्द्रसम्मको महाधिवेशन आउँदैछ । केन्द्रले निर्देशन दियो भने तोकिएकै मितिमा वडाको अधिवेशन गराइने उनले बताए । आगामी १४ औं महाधिवेशनमा गुटभन्दा माथि उठेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठले आजको दिन ऐतिहासिक दिन रहेको बताए । उनले धरान कांग्रेसको इतिहासमै उपनिर्वाचनमा जीत हासिल गर्न सकेको, धरान १३ स्थित जननायक वीपीको नाममा पार्क स्थल बनाउनु र अग्रज नेताद्धय बलबहादुर राई/भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको बताए ।












Discussion about this post