नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । पछिल्लो समय नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको एक तथ्यांकले देखाएको हो । यो संख्याअनुसार प्रत्येक १ घण्टा २० मिनेटमा नेपालमा एक आत्महत्याको घटना हुने गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा एक वर्षको अवधिमा ५ हजार ३ सय १७ जनाले आत्महत्या गर्दा नेपालमा दैनिक आत्महत्या गर्नेको संख्या १४ देखि १५ को हाराहारीमा थियो ।
तर, यो संख्या गत आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा दैनिक १९ जनाभन्दा बढी पुगेको छ । यो संख्या आर्थिक वर्ष २०७६/७७ को तथ्यांकभन्दा १४ दशमलव ४ प्रतिशतले बढी हो । सो आर्थिक वर्षमा कुल ६ हजार २ सय ४१ जनाले आत्महत्या गर्दा दैनिक ग्राफ १७ थियो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएपी वसन्त कुँवरले आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको घटना दर्ता संख्याले पुष्टि गरेको जानकारी दिए ।
‘२०७६/७७ मा कुल ६ हजार २ सय ४१ जनाले आत्महत्या गर्दा दैनिक ग्राफ १७ थियो तर २०७७/७८ को तथ्यांकले १४ दशमलव ४ प्रतिशत आत्महत्या बढेको देखाएको छ, अहिले दैनिक १९ जनाले आत्महत्या गर्ने तथ्यांक देखाउँछ,’ प्रहरी प्रवक्ता कुँवरले भने ।
२०७७/७८ को तथ्यांकअनुसार ५ हजार ७ सय २० जनाले झुन्डिएर आत्महत्या गरेको देखाएको छ ।
यसैगरी, १ हजार २ सय ७६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । यसैगरी, ४६ जनाले हाम फालेर, ३६ जनाले पानीमा डुबेर तथा १९ जनाले आफैंले आफैंलाई आगो लगाएर आत्महत्या गरेको तथ्यांक देखाउँछ ।
यस्तै, विभिन्न प्रकारका हातहतियारको प्रयोग गरेर १८ जनाले गत आर्थिक वर्षमा आत्महत्या गरेको तथ्यांक देखाउँछ भने दुई जनाले करेन्ट लगाएर आत्महत्या गरेको देखिन्छ । किन हुन्छ आत्महत्या ? त्रिवि शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वाथ्य विभाग प्रमुख प्रा. डा. सरोज ओझा आर्थिक, सामाजिक, पारिवारिक र मानसिक (डिप्रेसन) को समस्या नेपालमा आत्महत्याको मूल कारक बन्ने गरेको बताउँछन् । उनका अनुसार डिप्रेसन आत्महत्या गर्न सघाउ पु-याउने प्रमुख मानसिक रोग हो ।
त्यस्तै, बाइपोलार डिस्अर्डर, स्किजोफेनिजाजस्ता मानसिक रोगीले पनि आत्महत्याका घटना बढाउने गरेको छ । यस्तै, आर्थिक रूपमा आफूलाई कमजोर ठानेर र आफ्ना मनोकांक्षा पूरा गर्न नसक्दा पनिनेपालमा आत्महत्याका घटना घट्ने गरेको प्रहरीमा भएको घटना दर्ताका कारणले देखाउँछ । यसैगरी, परिवारमा हुने सामान्य किसिमका झैंझगडा आत्महत्याका कारण हुने गरेका छन् भने सामाजिक रूपमा व्यक्तिमा हुने व्यवहार पनि आत्महत्याको कारण बन्ने गरेका छन् ।
महिलाहरूले भने घरेलु हिंसा सहन नसकेर पनि आत्महत्या गर्ने गरेका छन् । महिलामा आत्मविश्वासको कमी र आर्थिक रूपमा सक्षम नहुनु आत्महत्याको कारण हो । यसैगरी, पारिवारिक रूपमा भएका केही गम्भीर प्रकारका घटनाका कारण पनि आफन्त वा एकाघरका व्यक्तिले ती घटनाबारे थाहा पाएपछि आत्महत्याका घटना घट्ने गरेको प्रहरी बताउँछ ।
आत्महत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन् । अत्यधिक रिसको कारणले पनि मानिसले आत्महत्या गर्ने गर्छन् । कतिपय आत्महत्या वंशाणुगत कारणले पनि हुने गर्छ । आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ । काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निणर्यमा पुग्छ ।
कसरी रोक्ने ?
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वाथ्य विभाग प्रमुख ओझा आत्महत्या रोक्न सबैभन्दा पहिले व्यक्तिमा उत्पन्न हुने भावनात्मक आवेगलाई रोक्नुपर्ने बताउँछन् । व्यक्तिमा तत्काल आउने भावनात्मक आवेगले मानिसलाई आत्महत्याको अवस्थासम्म पु-याउन सक्छ । त्यस्तो अवस्थामा उसलाई परिवारको सहयोग र समर्थन चाहिन्छ ।
यसैगरी, कुनै पनि व्यक्तिलाई समाजबाट हुने व्यवहार वा घटनाबाट पनि उसले आफूलाई आत्महत्या रोक्ने अवस्थासम्म पु-याउन सक्छ ।
त्यसका लागि समाजमा जनचेतनाको अभाव अझै पनि छ । घरमा हुने सामान्य झगडासमेत सहज व्यवस्थापन गर्न सके आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ । यसैगरी, आर्थिक रूपमा देखिने गरेका समस्यासमेत घरव्यवहारमा मिलाउन सक्दा आत्महत्याका घटना कम हुन सक्छन् । यसैगरी, व्यक्तिमा देखिने मानसिक समस्याको सही समयमा उपचार हुँदा र मनोचिकित्सकको परामर्शमा पुग्दासमेत आत्महत्याका घटना कम गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वमा ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापानलाई मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्न आउँछ । महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो देश हो ।
विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ वर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । सरकार र समाजको पनि भूमिका आत्महत्या निरुत्साहित गर्न सरकारले पनि उचित ध्यान दिनैपर्छ । आत्महत्याको भावना मानिसमा उत्पन्न हुँदा सहज परामर्श सेवा कहाँ लिने भन्ने समस्या नेपालमा छ । यो व्यवस्थाको सहज पहुँच पनि आत्महत्या रोक्ने एउटा पाटो हो ।
त्यस्तो सोच आएका व्यक्तिले तत्काल सेवा पाउँदा आफूलाई नियन्त्रणमा राखेर आत्महत्या रोक्ने प्रयास गर्न सक्छन् । यसैगरी, आत्महत्याको न्यूनीकरणका लागि समाजले पनि ख्याल गर्नुपर्ने र परिवार र साथीभाइसँगै आफन्तले पनि ध्यान दिनुपर्छ । आत्महत्या गर्ने व्याक्तिले अलि फरक व्यवहार देखाउने गर्छन् । खास गरी मानिस आएको व्यवहारअनुसार उनीहरूलाई हौसला र सहयोग गर्नुपर्छ ।
अहिले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्र कमजोर बनेको छ । डा. ओझा हाल नेपालमा कोरोनाका कारणसमेत आत्महत्या बढेको बताउँछन् । ‘कोरोनाका कारण कति मानिस आफन्त गुमाएको पीडामा छन्, कतिले जागिर गुमाएका छन् । धेरैको आर्थिक अवस्था कमजोर बनेको छ, पढाइ धेरैको बिग्रिएको छ । यी सामाजिक तथा आर्थिक कारणले गर्दा पनि आत्महत्या बढेको हो, व्यक्तिले तनाव थेग्न नसक्दा घटना बढेको पाइएको छ,’ डा. ओझाले भने ।
महेश्वर गौतमले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।














Discussion about this post