सङ्खुवासभा : सङ्खुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा भएको बीभत्स हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली पनि खटिने भएको छ ।
एकै परिवारका छ जनाको हत्या गरिएको दर्दनाक घटनाको अनुसन्धानका लागि सिआइबी टोली घटनास्थलतर्फ जान लागेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । उनका अनुसार सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वमा रहेको टोलीले सोमबारसाँझ ७ बजेतिर घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई प्रयोग गरेको छ ।
सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरबाट इन्सपेक्टर योगराज खतिवडा नेतृत्वको टोली सोमबार दिउँसो नै घटनास्थल पुगेको थियो । तर, यत्रतत्र छरिएका शवहरु नचलाइकन सङ्खुवासभा प्रहरीले घटनास्थलमा सुरक्षा मात्रै प्रदान गरेको थियो ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवहरु उठाएर पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउने तयारी भएको छ । दिउँसो १२ बजेसम्ममा घटनास्थलबाट शवहरु उठाउने तयारी प्रहरीले गरेको छ ।
सोमबार ८५ वर्षीय बौदमान कार्कीको परिवारका छ जनाको सामूहिक हत्या भएको हो ।
प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । एउटै परिवारका छ जनाको हत्या भएपछि पूरै गाउँ शोकमा डुबेको छ ।
तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ । नरेशकी श्रीमती मुना भने झापामा बस्छिन् ।
















Discussion about this post