मोरङ : आइतबार मृत भेटिएकी सुन्दरहरैँचा नगरपालिका ११ सलकपुरकी २२ वर्षीया रोजिना गिरीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
माइतीपक्षले उनको हत्या भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय बेलबारी अगाडि प्रदर्शन गरेका हुन् । प्रहरीले भने रोजिनाले आत्महत्या गरेको देखिएको बताएको छ ।
प्रहरीको अनुसन्धान निष्पक्ष हुन नसकेको गुनासो गर्दै दोषीमाथि कारबाहीको माग राखेर उनीहरूले प्रहरी कार्यालय घेराउ गरेका हुन् । अनुहार र शरीरका विभिन्न भागमा निलडाम र चोट रहेका कारण हत्या गरेको हुनसक्ने रोजिनाका काका चक्र गिरीले बताए । उनले भने, ‘हेर्दा कुनै ठाउँमा ठोक्काएर र कुटपिट गरेर हत्या गरेपछि झुन्ड्याइएजस्तो देखिन्छ ।’
यता, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
मृतकका हजुरबुवा देवीप्रसाद गिरीले कोठाभित्रको पङ्खामा सल झुन्डिएको र शव भने ओछ्यानमा भेटिएको बताए । ‘हामीले शव देख्दा हात सिरानीमुनि, खुट्टा भुइँमा लत्रिएको र शरीर ओछ्यानमा थियो,’ उनले भने ।
उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय गिरी करीब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दरहरैँचा नगरपालिका ११ सलकपुर आएकी थिइन् ।
उनको विवाह सुन्दरहरैँचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी रोजिनाको आइतबार रहस्यमय मृत्यु भएको हो ।
श्रीमानका परिवारले रोजिनाले कोठाभित्र आत्महत्या गरेको दाबी गरिरहेका छन् भने माइती पक्षले कुटपिट गरि हत्या भएको र आत्महत्या गरेको भन्ने बनाएको आरोप लगाइरहेका छन् ।
यो पनि – १५ महिनाअघि बिहे गरेकी मोरङकी रोजिनाको शंकास्पद मृत्यु, हत्या भएको आशंका
















Discussion about this post