इटहरी : नेपाली कांग्रेसको भोलि (शनिबार) हुन गइरहेको पालिकाको अधिवेशनमा इटहरी कांग्रेसको नेतृत्व गर्नका लागि दुईजनाको उमेद्दारी परेको छ ।
शुक्रबार (आज) इटहरीस्थित कविर माध्यमिक विद्यालयमा भएको मनोनयनमा विद्यार्थी राजनीतिबाट उदाएका विकास केसी र वर्तमान नगर सभापति हेमकर्ण पौडेलले सभापति पदका लागि उमेद्दारी दर्ता गरेका हुन् ।
यसअघि वर्तमान नगरसचिव प्रकाश बस्नेतले पनि सभापति पदमा उमेद्दारी दिने भनिएपनि उनका पिता दुर्गाबहादुर बस्नेतको निधन भएसँगै बस्नेतले मनोनयन दर्ता नगरेपछि दुईजनाको मात्रै उमेद्दारी परेको हो ।
सहायक मतदान अधिकृत रोबनराज कार्कीका अनुसार उपसभापति पदका लागि बालकृष्ण विष्ट, कोविदजंग कार्की, चन्दनकुमार साह (नायक) र शिवराज दाहालको उमेद्दारी परेको छ । यस्तै, सचिवका लागि मन्दिप भट्टराई, विक्रम घिमिरे, प्रकाश चौधरी, देवेन्द्र चौधरी र रोशनकुमार तामाङको उमेद्दारी परेको कार्कीले जानकारी दिए ।
त्यस्तै, सहसचिव पदका लागि प्रकाश राई, मेनुका गिरी, ईश्वर तामाङ र राजकुमार साहको उमेद्दारी परेको छ । सभापति बाहेक अन्य पदमा दुई–दुई जना निर्वाचित हुनेछन् ।
इटहरी उपमहानगरपालिकामा चार सय ८१ मतदाता रहेका छन् । यसअघि १३ औँ महाधिवेशनमा सबै क्रियाशिल सदस्यहरूले मत हाल्न पाउने व्यवस्था भएपनि यसपटक क्षेत्रीय प्रतिनिधिहरूले मात्रै मत खसाल्न पाउने भएसँगै चुनावी माहोल थप रोचक बनेको छ ।
चुनावी मैदानमा उत्रिएका केसी र पौडेल आफूले चुनाव जित्नुपर्ने दाबीसहित कार्यकर्ता रिझाउन व्यस्त छन् ।
भोलि (शनिबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा इटहरीको जनता माविमा निर्वाचन हुने तयारी गरिएको छ ।












Discussion about this post