विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिनेगरी शुक्रबार बैठक स्थगित गरिएको भएपनि कांग्रेस र एमालेले नै प्रदेशसभा स्थगित गर्न माग गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजकाले प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो ।
प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा स्थगित गर्नका लागि निवेदन दर्ता गरेसँगै लगत्तै एमालेले पनि वैठक स्थगित गर्न माग गरेको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार यसअघि गत शुक्रबार मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । तर, शुक्रबार नै सभामुख प्रदीपकुमार भण्डारीले आइतबार मतदान हुनेगरी वैठक स्थगित गर्ने घोषणा गरे ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपीडितको अवस्था बुझ्न प्रदेश १ का विभिन्न जिल्ला आउने कार्यक्रम रहेको जनाउँदै कांग्रेसले प्रदेशसभा वैठक रोक्न निवेदन दर्ता गरेको थियो । तर, विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने संकेत पाएपछि कांग्रेसले आइतबारको बैठक रोक्न माग गरेको हो ।
कांग्रेसले निवेदन दर्ता गरेसँगै एमालले पनि मिति परिवर्तन गरी प्रदेशसभा वैठक बस्नुपर्ने माग राखेको पराजुलीले बताए ।
प्रदेश १ को हिउँदे अधिवेशन सुरु हुने मिति परिवर्तन भएको सूचना टाँस भएसँगै मुख्यमन्त्री आचार्यको कार्यकाल थप एक साता लम्बिएको छ ।














Discussion about this post