विराटनगर : विराटनगरमा ट्रकको ठक्करबाट एक डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा डा. निखिल पन्जियार रहेका छन् ।
बिहीबार राति साढे ११ बजे विराटनगर ४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्का अनुसार विराटनगर महानगरपालिका ४ स्थित आयल निगम छेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको डा. निखिल चढेको प्र–२–०२–००३–प–२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको राति ११ः४५ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी रहेको छ ।
जनकपुर ३ स्थानीय घर भएका डा. निखिलले विराट मेडिकल कलेज मोरङबाट एमबीबीस पास गरेका थिए । उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए ।














Discussion about this post