इटहरी : उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तर्गत चार जनामाथि दाबी विरोध परेको छ।
उम्मेदवारीविरुद्ध परेको दाबी–विरोधमाथिको छानबिन गरी निर्वाचन समितिले दोस्रो नामावली प्रकाशन गरेको जनाएको छ। मनोनयन दर्ताका क्रममा पेश गरिएका फारम तथा आवश्यक कागजात नमिलेको भन्दै दाबी विरोध परेको हो।
महेन्द्र रेग्मी, विष्णु डाँगी, सुरेश कार्की र मुक्ति दाहालको उम्मेदवारीविरुद्ध दाबी विरोध परेको हो। उनीहरूले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।
निर्वाचन समितिका अनुसार मनोनयन दर्ता गराउँदा पेश गरिएका फारम तथा आवश्यक कागजातमा त्रुटि र असंगति देखिएपछि चारै जनाको उम्मेदवारी खारेज भएको हो ।
समितिले दाबी विरोधमाथिको कानुनी प्रक्रियाअनुसार कागजात परीक्षण गरी निर्णय गरेको जनाएको छ।
निर्वाचन समितिका संयोजक टंक दुलालका अनुसार उद्योग वाणिज्य संघको विधानअनुसार प्रत्येक आर्थिक वर्षमा व्यवसाय नवीकरण गर्नुपर्ने, पान नं उल्लेख भएको हुनुपर्ने भएपनि नभएकाले चार जना उम्मेदवारको उम्मेदवारी खारेज गरिएको जानकारी दिए ।
उनका अनुसार व्यावसायिक फर्म भएपनि पान नं. उल्लेख नभएको र नवीकरण पनि प्रत्येक आर्थिक वर्षमा नभएका कारण विधानबमोजिम निर्णय गरिएको हो ।
खासगरी वाणिज्य पदमा ९ जनाका लागि १३ जनाको उम्मेदवारी परेको उनको भनाइ छ । उद्योगमा ४ जनाका लागि ५ जनाको उम्मेदवारी कायम भएको छ ।
वस्तुगत र संघमा दुईवटा चाहिनेमा एउटा खारेज भएको छ भने एउटा कायम भई निर्विरोध भएको छ । एसोसियट्मा निर्विरोध भएको यद्यपि घोषणा हुन बाँकी रहेको दुलालले बताए ।
‘खारेज भएका चार जनाले विधान बमोजिम अब यो निर्वाचनमा उठ्न पाउनुहुन्न,’ निर्वाचन समितिका संयोजक दुलालले भने ।
यसैगरी २ जना महिलाका लागि चारजनाको उम्मेदवारी परेको छ । जुन पदमा उम्मेदवारी खारेज भएको हो त्यसबारे भने नयाँ कार्यसमितिले निर्णय गरी मनोनीत गर्न सक्ने विधानमा उल्लेख छ ।
उवासंघको अध्यक्षका लागि नवराज काफ्ले र गायत्री कटवाल भण्डारी चुनावी मैदानमा छन्।















Discussion about this post