इटहरी : सुनसरीमा एक पुरुषले जिउँदो रहँदै मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार डाका मुद्वाका एक फरार अभियुक्तले मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको हो ।
डाका मुद्दामा फरार प्रतिवादी साविक चाँदबेला १ (हाल इनरुवा ७) का अजित मियाँले आफ्नो मृत्यु प्रमाण पत्र बनाएको खुलेको एसपी थापाले जानकारी दिए । उनलाई डाका मुद्दामा ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकिएको थियो । फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार (हिजो) दिउँसो पक्राउ गरेपनि मंगलबार मात्रै सार्वजनिक गरिएको हो ।
मियाँ लगायतका ३ जनाको समूहले २०६८ सालमा रामधुनी ५ का जैयस कुमार साहको घरमा डाका गरेका थिए । उनीहरूलाई अदालतले २०७५ असार ११ गते जनही ६ वर्ष कैद र ९९ हजार जरिवाना फैसला गरेको थियो ।
उनले २०७४ पुष २७ गते आफ्नो मृत्यु भएको भनेर स्थानीय पञ्जिकाधिकारीको कार्यालयवाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए ।
प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफुलाई अजितको भाई अजिजको रूपमा चिनाउदै आएका थिए । घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको खनासत गरेपछि मात्र पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउका लागि गरेको प्रयासमा उम्कदै आएका उनी ‘अजितको मृत्यु भैसकेको छ, उ फटाहा नै थियो’ भन्दै ढाँट्दै आएका थिए । आफू अजितको भाइ भन्दै भ्रम छर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post