इटहरी : फर्जी मत हाल्दाहाल्दै नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ पक्राउ परेका छन् ।
धरान १५ का क्षेत्रीय प्रतिनिधि भवानी ओझाको नामको मत आफैं हाल्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।
आइतबार सुनसरी जिल्लाको अधिवेशनको क्रममा तामाङले ओझाको मत आफैं हाल्न खोजेपछि धरान १५ कै क्षेत्रीय प्रतिनिधि सन्दीप सुवेदी र अर्का क्षेत्रीय प्रतिनिधि राजेश अधिकारीले उनलाई पक्राउ गरेको एक नेताले जानकारी दिए ।
उनका अनुसार ओझाले आफ्ना बुवाको निधन भएपछि किरियामा रहेका बेला तामाङले उनको नामको फर्जी मत हाल्न खोजेका थिए ।
‘क्षेत्रीय सभापति जस्तो मानिसले नै फर्जी मत हालेपछि अरूले झन् के गर्लान्,’ ती नेताले नाम नखुलाउने शर्तमा फोन सम्पर्कमा भने, ‘फर्जी मत हाल्ने क्रममा हामीले नियन्त्रणमा लिएपछि केहीबेर विवाद भएको थियो, अहिले मतदान सकिएको छ ।’
उनका अनुसार आज इनरुवामा भएको निर्वाचनमा तामाङले केदार भण्डारी पक्षलाई समर्थन गर्दै आएका थिए । संस्थापन इतर समूहका भण्डारीलाई समर्थन गरेका तामाङलाई संस्थापन समूहका नेताहरूले नियन्त्रणमा लिएका हुन् ।
सुनसरी कांग्रेसको नेतृत्व लिनका लागि संस्थापन समूहबाट सञ्जय श्रेष्ठ र संस्थापन इतरबाट भण्डारी चुनावी मैदानमा छन् ।














Discussion about this post