इटहरी : नेपाली कांग्रेस सुनसरीमा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरिएको छ ।
उपसभापतिका उम्मेदवार गफार अन्सारी मियाँ र सचिवका उम्मेदवार रञ्जेश भट्टराईले मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका हुन् ।
संस्थापन पक्षबाट उम्मेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुनः गणना गर्न माग गरिएको बताए ।
यस्तै, सचिवमा एक मतले मात्रै पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको जानकारी दिए ।
सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए ।
निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ ।














Discussion about this post