इटहरी : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्हमा ग्रहण लाग्ने अवस्था रहेको बताएका छन् ।
इटहरीमा मंगलबार आयोजित नेकपा एकीकृत समाजवादी पार्टीको १ नं. प्रदेशस्तरीय भेला तथा प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘ओलीले एमाले पार्टीलाई निजी कम्पनी जस्तै बनाएका छन्, अब सूर्य चिन्हमा ग्रहण लाग्ने स्थिति भइसक्यो, हाम्रो पार्टीमा बदलाको भावनाले चल्दैन । हिजो गल्ती गर्दा पनि होच्याउने काम पनि कसैले गदैनन् ।’
एमाले अध्यक्ष केपीशर्मा ओलीप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘गएको निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गर्ने को हो ? २०७४ सालमा अरूले गर्न हुने, अहिले किन गर्न नहुने ?’ उनले नेकपा एमाले पार्टी निजी कम्पनी जस्तै भएको आरोप लगाए । उनले तीनै तहको निर्वाचनमा दलीय गठबन्धनसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए ।
‘अहिले हामी पाँचवटा राजनीतिक दल एक ठाउँमा छौं । स्वभाविक रुपमा जति धेरैलाई समेटन सकिन्छ, हामी समेटछौं, आगामी माघमा हुने राष्ट्रिय सभाको चुनावदेखि नै पाँच दल एक ढिक्का भएर अघि बढ्नेछौं ।’
गलत काम गर्नेहरूका लागि आफ्नो पार्टीमा ठाउँ नभएको उनको भनाइ थियो ।
मिटर ब्याजीसहित अन्य गलत काम गरेर जनतालाई दुःख दिने पक्षका मानिसहरूलाई पार्टीमा ठाउँ नरहेको उनको तर्क थियो । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले जनतामाथि दुःख दिने प्रवृत्तिका काम नगर्न पनि कार्यकर्तालाई निर्देशन गरे ।
कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू सधैँ पार्टीको नीति नियममा रहेर जनताको कामप्रति सचेत रहेको बताए ।














Discussion about this post