तरहरा : धरानमा बस दुर्घटनामा परेर तरहराकी एक युवतीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरान ८ बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी २० तरहराकी २३ वर्षीय अनिता राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार युवती बसको ठक्करबाट सडकमा खसेर गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको लागि लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को ३७ प ११३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाटै आउँदै गरेको को १ ख ३८५५ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस र बसका चालक इटहरी २० कै ५४ वर्षीय राजु थापालाई नियन्त्रणमा लिएको जनाएको छ । मोटरसाइकल चालक २६ वर्षीय मिलन राईलाई भने सामान्य चोटपटक लागेकाले उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post