सुनसरी : सुनसरीको बर्जु गाउँपालिका ६ मा आयोजित महोत्सवमा पुगेका सर्वसाधारणले कलाकार नआएपछि आगजनी गरेका छन् ।
मंगलबार (आज) महोत्सवको अन्तिम दिन आयोजक समितिले भारतीय कलाकार खेसरीलाल यादव आउने भन्दै सर्वसाधारणलाई टिकट बिक्री गरेको थियो ।
तर, खेसरीलाललाई स्थानीय प्रशासनले रोकेपछि आक्रोशित बनेको भीडले स्टेज तोडफोड र आगजनी गरेको हो ।
महोत्सवस्थलमा पुगेका चारवटा स्कारपियोमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पुस २३ गतेदेखि सञ्चालनमा रहेको तेस्रो बर्जु महोत्सव तत्काल रोक्न सुनसरी प्रशासनले निर्देशन दिएको थियो ।
बर्जु गाउँपालिकास्थित चिमडीमा २३ गतेदेखि माघ ४ गतेसम्म जिल्ला प्रशासन कार्यालयबाट महोत्सव आयोजना गर्न आयोजकले अनुमति लिएकोमा उक्त महोत्सवमा भीडभाड बढेको पाइएपछि रोक्न आइतबार नै पत्राचार गरिएपनि मंगलबार (आज) अन्तिम दिन रहेको भन्दै भीडभाडसहित महोत्सव आयोजना गरिएको थियो ।
गृह मन्त्रालयले २५ जनाभन्दा बढी जम्मा हुन नदिएपछि स्थानीय प्रशासनले महोत्सव स्थगित गर्न निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले महोत्सव रोक्न मानेन ।

महोत्सवमा अत्यधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेको थियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार दिउँसोको करीब साढे ३ बजेदेखि उपस्थितहरूले स्टेजमा आगजनी गरेका थिए । उनका अनुसार करीब एक हजारको संख्यामा उपस्थित स्थानीयले तत्काल नम्बर नखुलेको चारवटा स्कारपियो, एउटा सिटीसफारी, एउटा मोटरसाइकल र एउटा साइकलमा आगजनी गरेका थिए ।
यस्तै, आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको गाडीको अगाडि सिसामा ढुंगा प्रहार समेत गरेका थिए ।
प्रजिअ यादवका अनुसार साँझ ६ बजे मात्रै सबै भीड तीतरबितर बनेको थियो ।












Discussion about this post