इटहरी (डेस्क) : मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैँचा नगरपालिका ४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा सामूहिक बलात्कारको अभियोगमा सोही होटल सञ्चालकसहित तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।
उनीहरूले गत ७ गते बेलुका साढे ५ बजे इटहरीबाट घर फर्कने क्रममा ३० वर्षीया महिलालाई गछिया खोलाको पुल नजिकबाट घर पुर्याइदिन्छु भन्दै गाडीमा चढाएर उक्त होटलमा पुर्याइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गत ८ नै गते सो घटनाको जानकारी पाएको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सञ्चालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो ।
तत्काल फरार रहेका रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते इलामको सूर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही तथा थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।














Discussion about this post