इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न सार्वजनिक स्थान, सडकखण्ड तथा सरकारी जग्गामा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा र ध्वजापताका तीन दिनभित्र हटाउन सार्वजनिक अपिल जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थानमा राखिएका यस्ता झण्डा तथा ध्वजापताका सम्बन्धित पक्षले तोकिएको तीन दिनभित्र हटाउन आग्रह गरिएको छ।
प्रशासनले हटाइएका झण्डा तथा ध्वजापताका पुनः सार्वजनिक स्थानमा नराख्न समेत अनुरोध गरेको छ। यसका लागि सम्बन्धित स्थानीय तह, सरोकारवाला निकाय तथा सबै पक्षबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ।
प्रशासनले सार्वजनिक स्थानको व्यवस्थापन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा जिल्लाको शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले उक्त अपिल जारी गरिएको जनाएको छ।
प्रशासनले सबै पक्षलाई जारी सूचनाको पालना गर्दै सामाजिक सद्भाव, आपसी सहिष्णुता र कानुनी व्यवस्थाको संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।













Discussion about this post