इटहरी : सुनसरीको लौकहीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुनिया पुलमा ट्रक र बस एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आज (शनिबार) बिहान दिएको जानकारी अनुसार शुक्रबार (हिजो) साँझ साढे ७ बजे भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बस चालक पाँचथर घर भएका सुरेन राई, बसमा सवार तत्काल नाम, थर, वतन नखुलेका पुरुष र ट्रक चालक तत्काल नाम, थर, वतन नखुलेका पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार कोसी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को सिमाना खुनिया खोला स्थित पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस आपसमा ठक्कर भइ दुर्घटना भएको हो ।
दुर्घटनापछि दुवै सवारीमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको थापाले जानकारी दिए ।
‘दुर्घटनामा तीनजनाको मृत्यु भएको हो, एकजना प्यासेन्जर छन् भने दुईजना चालक हुन्,’ फोन सम्पर्कमा एसपी थापाले टाकुरान्यूजसँग भने, ‘दुर्घटनामा करीब २७,२८ जना घाइते छन्, उनीहरू सबैको नाम खुलेको छैन ।’ उनका अनुसार दुर्घटनामा करीब २७ जना घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल इनरुवा, न्यूरो अस्पताल विराटनगर र विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको एसपी थापाले बताए ।
बस र ट्रकमा आगलागी हुँदा तत्काल सडक समेत अबरुद्व भएपनि राति साढे १० बजेपछि मात्रै सडक सुचारु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलीले घटनास्थलमा पुगेर अन्य यात्रुहरूलाई उद्धार गरेको थियो ।














Discussion about this post