इटहरी : सुनसरीको कोसी गाउँपालिका ६ शिव चोकमा मङ्गलबार राति स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कोसी गाउँपालिकामा पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ००३१ नम्बरको स्कारपिओ सडकमा रोकेर राखिएको बिआर ०१ जिए ४४८३ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ट्रकमा राति ८ः५० बजेतिर स्कारपिओ पछाडिबाट ठोक्किएको हो ।
पछाडिबाट टोक्किएर अनियन्त्रित बनेको स्कारपिओ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अर्को ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किदाँ स्कारपिओमा सवार सप्तरीको हनुमाननगर कङ्कालिनी–५ का ५० वर्षीय दिलिप मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा हनुमाननगर कङ्कालिनी ५ का ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार राजक, ४८ वर्षीया रामकुमारीदेवी रजक र ५० वर्षीय उमेशकुमार साफी घाइते भएका छन् ।
घाइतेमध्ये लक्ष्मणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
स्कारपिओको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post