खोटाङ : रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट, जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ ।
विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटर मेसिनले बिरामी परेका बेला कसैको ज्यान जोगिन सक्ने मन्त्री कार्कीले बताए ।
एनआरएनएकी पूर्व उपाध्यक्ष तथा हाल अध्यक्ष पदको प्रत्यासी समेत रहनुभएकी फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताइन् । आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले फाउन्डेसनले गरेको सहयोगले विकासमा नयाँ आयाम थपेको बताए ।
कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सङ्घीयता लागू भएपछि प्रदेश सरकार गाँउठाँउमा नआए पनि अहिले बनेको सरकार गाँउ गाँउमा देखिन थालेको बताए ।














Discussion about this post