विराटनगर : दिनको ठीक एक बजे । ट्याङ्–ट्याङ् घण्टी बज्छ । घण्टीको आवाजसँगै आमन्त्रित अतिथिहरू हलभित्र प्रवेश गर्छन् । हलभित्र प्रवेश हुनासाथ मधूरो धूनमा बजिरहेको संगीतले सबै मन्त्रमुग्ध बन्छन् । केहीबेरमै कार्यक्रम सुरु हुन्छ । र, कवि सुमन पोखरेल कविताको लयमा रम्न थाल्छन् ।
शनिबार (आज) विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकलमा आयोजना गरिएको काव्य श्रृङ्खला ‘काव्यरोहण’ मा देखिएको दृश्य हो, यो । प्रख्यात कवि पोखरेलले कविता सुनाउन सुरु भएदेखि कार्यक्रम सकिएसम्म आमन्त्रितहरू एकाग्र भए ।
‘प्रजातन्त्रका लागि धेरै लड्यौ, व्यवहारिक रूपमा कति प्रजातन्त्र आयो, थाहा छैन,’ कविता सुनाउनुअघि कवि पोखरेलले भने, ‘अन्य धेरै ठाउँ एकल वाचन भयो, तर म विराटनगरबासी नै भएपनि यहाँ भने पहिलोपटक एकल कविता वाचन भएको छ ।’
कवि पोखरेलले पहिलो कविता विस्मयादिबोधक चिह्न ‘!’ बाट सुनाउन सुरु गरे ।
त्यस्तै, कवि पोखरेलले ‘आकाशबाट’, ‘भोकाएको मन’, ‘जहाँ शून्यताले आकार भुल्छ’, ‘दुवै निद्रा आइपर्दा’, ‘हरेक बिहान’, ‘खोरम्पा’, ‘नदि बोक्ने गाउँमा’, ‘रुख’, ‘कविता फुरिरहेको छैन’, ‘तिमी जसरी छ्यौ’, ‘क्षितिजको रङ्ग’, ‘विदा हुँदाहुँदै’, ‘कमैया बस्तीमा’, ‘हाटमा उभिएर’, ‘यो सहर कस्को हो?’, ‘म सँग एउटा जिन्दगी छ’ र ‘विदा हुन्न’ शीर्षकको कविता सुनाए ।
वि.सं. २०२४ असोज ५ गते विराटनगरमा जन्मिएका कवि पोखरेलका कविताहरू विभिन्न भाषमा अनुवाद छन् । उनका दुई कवितासंग्रह, दुई गीतसंग्रह, एक गजलसंग्रह तथा विश्वकविताहरूको नेपाली अनुवाद संग्रह समेत प्रकाशित छन् ।
पोखरेल सार्क साहित्य पुरस्कार (सन् २०१३ र २०१५) बाट समेत सम्मानित भएका छन् ।
आरोहण गुरुकुलले २०७६ मंसिर ७ गतेबाट सुरु गरेको ‘काव्यारोहण’ हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कवि रमेशचन्द्र अधिकारीले बताए ।
यसअघि वैरागी काईँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ र कुन्ता शर्माले काव्यारोहणमा कविता सुनाएका छन् ।
कवि रमेशचन्द्र, धीरज राई र दीपेश भण्डारीले संयोजन गर्दै आएको कार्यक्रम हरेक महिनाको पहिलो शनिबार आयोजना गरिदैँ आएको छ ।














Discussion about this post