उदयपुर : उदयपुरको कटारी नगरपालिका ८ श्रृष्टिको जंगलमा फागुन ७ गते मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी भएसंगै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भनिने कमल बिक रहेका छन् ।
जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० वर्षीय राम किसन मिणा भएको खुल्न आएको छ । किबले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएकोछ ।
मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाबीचको डास खोलामा निर्माणाधीन रहेको पुलमा पायलिङ मेसिनको काम गर्दै आएका भारतीय नागरीक मिणा माघ २६ गतेदेखि सम्पर्कमा आएका थिएनन् । सम्पर्कमा नरहेपछि परिवारले इलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिएसंगै खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले फागुन ९ गते पथरी ८ बाट बिकलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेसंगै सोधपुछ गर्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पुलको ठेक्का पट्टा गर्ने बिक र मृतक मिणाबीच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम काज गर्ने भनी सम्झौता भए अनुसार बिगत डेढ महिनादेखि मोरङको डास खोलामा काम गर्दै आएका थिए ।
काम गर्ने क्रममा माघ २३ गते कमल बिकको बीरगञ्जमा रहेको अर्को साइड हेर्न भनी मृतकले प्रयोग गर्दै आइरहेको बीआर ०१ बीसी ५६९७ नम्बरको गाडीमा दुवैजना बीरगञ्ज गएको र उक्त स्थानमा पुगेको र माघ २५ गते फर्कने क्रममा बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेन सम्बन्धी विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
विवादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका बिकले रिसको आवेगमा मिणाको घाँटीमा तारको डोरीले कसेर हत्या गरेको र हत्या पश्चात शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलोमिटर माथि जंगलमा लगेर फालेको खुलेको छ ।
शवलाई जंगलमा फालेर फर्किएका बिकले मृतकले प्रयोग गर्ने मोबाइल फोन कोशी नदिमा फालेको तथा उक्त नम्बरको गाडी भारतीय बजार भीमनगर लगेर बेवारिसे अवस्थामा छाडेर फर्किएको प्रहरीले जनाएकोछ ।
लामो समयसम्म सम्पर्कमा नआएपछि मृतकका परिवारले खोजतलास गर्दै इलाका प्रहरी कार्यालय पथरी आए पश्चात मात्र उक्त घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ । यससँगै क्ष्लाका प्रहरी कार्यालय कटारीले फागुन ७ गते फेला पारेको शव फेला पारेको थियो ।
घटनामा संलग्न बिकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post